बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली आज चाइनिज कल्चर प्रमोशन सोसाइटीको सहयोगमा लुम्बिनी विकास कोष र सारिपुत्त फाउण्डेशन लुम्बिनीले शनिबार आयोजना गरेको चौथो एशिया बौद्ध साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्न लुम्बिनी पुगे ।
प्रधानमन्त्री नै सहभागी भएको उक्त कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले भने बहिष्कार गरेका छन् ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन कार्यक्रम बहिष्कार गरेका हुन् ।
कार्यक्रमको उद्घाटन नै प्रधानमन्त्री ओलीले गरेका थिए । कार्यक्रममा आफूहरुलाई बस्ने व्यवस्थासमेत नगरी अपमानजनक व्यवहार भएकाले भन्दै मन्त्री ढकाल र आफूले कार्यक्रम बहिष्कार गरेको सांसद गुप्ताले बताए ।
वैशाख १३ र १४ गते हुने यो कार्यक्रम नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि आयोजना गरिएको हो ।
कार्यक्रमका लागि चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषले सहकार्य गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी विश्वशान्तिको उदगम थलो भएको बताए । उनले शान्ति, मानवता, करूणा र मित्रता विश्वमा बढ्दै गएको पनि बताए ।
महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा शान्तिका लागि सैन्य शक्ति परिचालनका लागि निर्माण भएका हतियारहरु चुनौत बनेको बताए । उनले विश्वभर नै बुद्धका विचार र शिक्षाहरू ग्रहण गर्नेहरू बढिरहेको बताउँदै बुद्धको शिक्षालाई आत्मसाथ गर्ने बेला आएको बताए ।
मानव कल्याणका लागि बुद्वले आफ्नो निजि सुखसयल र दरबार छाडेको बताउँदै उनले बुद्धको जीवनबाट मानवजातिले धेरै कुरा सिक्नुपर्ने बताए ।
बुद्धका शान्तिमैत्री विचारहरूलाई जिवित राख्न ठूलो संघर्ष भएको इतिहास सम्झाउँदै अब बुद्धको विचार अनुशरण गरी विश्व शान्ति कायम गर्न सकिने बताए ।
उनले भने–‘विगतमा बुद्वका विचार, सिद्वान्तहरू सिध्याउन खोजेका थिए, बुद्धका शालिक तोडिएको पनि थियो । जति गरेपनि बुद्धका विचार तिनीहरुले मार्न सकेनन ।’
प्रधानमन्त्री ओलीले चौथौ एसियाली बौद्ध साँस्कृतिक महोत्सवमा अफ्रिका, यूरोप, पूर्व एसिया, अमेरिका सहित विभिन्न देशबाट आएका पाहुनाहरुलाई बुद्ध जन्मस्थलमा स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले लुम्बिनीमा आवश्यकताले अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र बनेको बताउँदै उनले यसलाई व्यस्थित बनाउन आफू सहयोग गर्न तयार रहेको बताए ।
महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डेय, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, मुख्यमन्त्री चेतनारायण आचार्य,, पूर्वमन्त्री कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा लगायतको उपस्थिती रहेको थियो ।
महोत्सवमा भिक्षु ,भिक्षुणी, लामा , उपासक उपासिका एवं बौद्धमार्गीहरुको सहभागिता रहेको छ ।