काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता असफल भएपछि शिक्षक महासंघको टोलीसँग नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन्।
आजै भएको सरकारसँगको वार्ता निष्कर्षविहीन भएपछि बाहिरिएका प्रतिनिधिसँग महामन्त्रीद्वयले छलफल गरेका हुन्।
छलफलमा कांग्रेसका महामन्त्रीद्वयसहित सहमहामन्त्री जीवन परियार, शिक्षा विभाग प्रमुख ऐन महर, पार्टीबाट विधेयक उपसमितिमा सदस्य रहेको सांसदद्वय डिगबहादुर लिम्बू र महेन्द्र राय यादवलगायत सहभागी थिए।
आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गरेर विद्यालयमा फर्काउने जिम्मा सभापति शेरबहादुर देउवाले यसअघि नै महामन्त्रीद्वयलाई दिएका थिए।
उनीहरुले यसअघि पनि शिक्षकहरुका प्रतिनिधिसँग छलफल गरेका थिए। लामो समयदेखि आन्दोलनमा रहेका शिक्षकहरुको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली अनुदार भएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेपछि महामन्त्रीद्वयलाई देउवाले खटाएका हुन्।
थापाले पटक–पटक शिक्षहरुलाई विद्यालय फर्काउने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताउँदै आएका छन् ।