काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले आफ्नो पार्टीमाथि अन्तर्राष्ट्रिय सर्वहारा वर्गले समेत आशा राखेको बताएका छन् ।
राजधानीमा आयोजित सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले अबको नेतृत्व माओवादीले गर्नु पर्ने बताए ।
पूर्वसभामुख समेत रहेका सापकोटाले भने,‘यो सरकार त समाप्त हुँदैछ । अब सिंगो राष्ट्रको नेतृत्व हाम्रो पार्टीले गर्नुपर्छ । अन्तर्राष्ट्रिय सर्वहारा वर्गले पनि हामीमाथि नै आशा राखेको छ । भोलि हामीले भूमण्डल नै थर्काउने गरी अभियान अघि बढाउनुछ ।’
भू–मण्डल नै थर्काउनेगरी विचार र कार्यक्रम अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
सापकोटाले वर्तमान सरका संवैधानिक नैतिकता विपरित बनेकोले यसको औचित्य नभएको बताए ।
ठोस स्थितिको ठोस विश्लेषण गरेर अघि बढ्नुपर्ने उनको भनाई थियो ।