काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्ममा आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन हुने बताएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि संचारकर्मीसँग कुराकनी गर्दै उनले यस्तो बताएका हुन् ।
‘शिक्षा मन्त्रीज्यूले वार्ता गर्नुभएको छ केही कुरा निष्कर्षमा पुगेको जस्तो लाग्छ मलाई। भोलि वा पर्सिसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ,’ उनले भने । उनले महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग शिक्षामन्त्रीको वार्ता सकारात्मक भएको जानकारी पाएको बताए ।
गत चैत्र २० गतेदेखि विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर देशभरका शिक्षकहरु काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् ।
सरकार र शिक्षकहरुबिच पटकपटक छलफल भएपनि शिक्षकहरुका माग सम्बोधन भने हुन सकेको छैन ।