'फलानोको फोन आएपछि सोचौँला भनेर उम्मेदवारी दिएको होइन'
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीका उम्मेदवार मनिष झालाई असहज हुने देखिन्छ ।
महामन्त्रीका ५ आकाङ्क्षीहरूले उम्मेदवारी फिर्ता लिएर अर्का महामन्त्रीका उम्मेदवार विपीन आचार्यलाई समर्थन गर्ने भएपछि मनिष झालाई असहजता हुने देखिएको हो ।
यसअघि ११ जनाले महामन्त्रीमा उम्मेदवारी दिएकोमा अहिले ४ जनाको मात्रै उम्मेदवारी कायम छ ।
अहिले महामन्त्रीमा विपिन, मनिष , गणेश कार्की र सागर ढकाल मैदानमा रहेका छन् ।
परराष्ट्रमन्त्री समेत रहेका शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, राजुनाथ पाण्डे, रञ्जु दर्शना, प्रमोद न्यौपाने, गणेश पराजुलले उम्मेदवारी फिर्ता लिएका छन् ।
ज-जसले उम्मेदवारी फिर्ता लिए उनीहरुले महामन्त्रीका उम्मेदवार विपिनकुमार आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
यद्यपी झाले अन्य उम्मेदवारहरुले आफ्ना निकटतम प्रतिद्धन्द्धी मानिएका व्यक्तिलाई समर्थन गरे पनि आफू अडानबाट पछि नहट्ने दृढता व्यक्त गरेका छन् ।
महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग उनले भने- 'यति आलोकाँचो राजनीति पनि गर्नुहुँदैन । हिजो राति उम्मेदवारी दिने, आज फिर्ता लिने ? सशक्त राजनीति गर्न सक्ने आँट भएकाहरू भिडिरहन्छन्, परिणाम जेसुकै होस् लागिरहन्छन् ।'
उनले उम्मेदवारी घोषणा गर्ने र कसैले भनिदिएको भरमा फेरि फिर्ता लिने काम कमजोर राजनीतिज्ञले मात्र गर्ने भन्दै कटाक्ष गरे। उनले रास्वपा महाधिवेशनमा सबै भन्दा पहिले महामन्त्रीमा दाबी गरेका थिए ।