काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् ।
पूर्वप्रधानमन्त्रीद्वय दाहाल–नेपालले शुक्रबार विराटनगरस्थित कोइराला निवास पुगेर नेता कोइरालासँग भेटवार्ता गरेका हुन् ।
विशेष महाधिवेशन गरेर गगन थापा सभापति बनेपछि पार्टी नै फुटको संघारमा रहेका बेला थापापक्षसँग रुष्ट बनेका बेला कोइरालालाई भेट्न दाहाल–नेपाल एकैपटक पुगेपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यद्यपी कोइरालाको सचिवालयले भने उनीहरूहरुबीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जनाएको छ ।
नेता कोइरालासँग आजै कांग्रेस महामन्त्री गुरूराज घिमिरेले भेटवार्ता गरेका थिए । उनीहरूबीच पार्टीको आन्तिरक विवाद समाधान र आसन्न १५ औं महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको बताइएको छ ।
महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
तस्बिरसँगै उनले फेसबुकमा लेखेका छन्–‘नेपाली कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा पार्टीका आदरणीय नेता डा। शेखर कोइरालासँग भेटघाट र छलफल ।’
महामन्त्री घिमिरे भारतबाट फर्किएपछि कोइरालालाई भेट्न पुगेका थिए । भारत जानुअघि पनि महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता भएको थियो ।
महामन्त्री घिमिरेले पार्टीको आन्तरिक विवाद समाधान र आसन्न १५औँ महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको जानकारी दिए ।
उनले भने–‘पार्टीका आन्तरिक विषयलाई कसरी समाधान गर्ने, महाधिवेशनमा सबै सहभागी हुने वातावरण कसरी बनाउने, शेखर दाइका पाँच बुँदा र हाम्रा सात बुँदामा छलफल गरेर कहिलेसम्म टुंग्याउने भन्ने विषयमा कुराकानी भयो ।’
घिमिरेले नेता कोइराला पार्टी एकताका लागि निकै सकारात्मक रहेको पनि बताए । उनले घिमिरेसँग सभापति गगन थापासँग दोस्रो पटक भेटघाट हुन नसकेको गुनासोसमेत गरेका छन् ।
‘सभापतिले मलाई भेटेपछि अर्को भेट हुन सकेको छैन । सभापतिसँग भेटेपछि र पार्टीको आधिकारिक टोलीसँग छलफल भएपछि पार्टीमा देखिएको विवाद समाधान गर्न सक्छौं । जटिल छैन,’ उनले महामन्त्रीसँग भने ।
आसन्न स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि पार्टीको आन्तरिक एकता बलियो हुनु अपरिहार्य रहेको नेता कोइरालाको भनाइ थियो ।
भेटवार्ताका क्रममा नेता कोइरालाले हतार नगरी पर्याप्त छलफल गरेर विवाद टुंग्याउनुपर्ने र सबै पक्ष महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिएको महामन्त्री घिमिरेले जानकारी दिए ।