काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन पक्षले बहुमतका आधारमा गरेको निर्णयमा विद्रोह गरेर जान नसकिएको बताएका छन् । विशेष महाधिवेशन पक्षधरहरूको भावनासँग आफू सहमत भए पनि केन्द्रीय कार्यसम्पादन समितिले बहुमतको आधारमा गरेको निर्णयमा विद्रोह गर्न नसकिएको बताए ।
काठमाडौंमा रहेका पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिसहितका नेता–कार्यकर्ताहरूसँग शनिबार विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफलमा उनले भने–‘विशेष महाधिवेशनको भावनासँग म सहमत छु । हस्ताक्षरकर्ताहरूको भावनासँग मेरो भावना जोडिएको छ । तर, केन्द्रीय कार्यसम्पादन समितिमा जुन बहुमतको निर्णय छ, त्यो मान्न बाध्य छौं ।’
छलफलका क्रममा नेता कोइरालाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका नेता–कार्यकर्ताहरूको भावना सम्बोधनका लागि केन्द्रीय कार्यसमितिलाई ‘कन्भिन्स’ गराउन खोजे पनि सफल हुन नसकेको बताएका थिए ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले शुक्रबार बहुमतबाट १५ औं महाधिवेशनको नयाँ कार्यतालिका पारित गरेको थियो । उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै अन्य तीन जना नेताहरूले फरक मत राखेका थिए ।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री थापाले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए पुसभित्रै आफूहरूले डाक्ने उद्घोष गरेका थिए ।
संस्थापन पक्ष विशेष महाधिवेशनको विपक्षमा छ । यस्तै, नेता कोइराला यसअघि नै पुसभित्र नियमित महाधिवेशन नगरिए केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवशेन बोलाउनुपर्ने पक्षमा उभिँदै आएका थिए ।
उनले शनिबारको छलफलमा आफूनिकट नेताहरूलाई पार्टीमा चुलिएको पछिल्लो विवाद समाधानका लागि संवाद सुरू गरेको पनि बताएका छन् ।