काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले नयाँ सरकार बनाउन १० दिन जति लाग्ने अनुमान गरेका छन्।
चौमतीस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्न लागेको सचिवालय बैठक अघि झाले पत्रकारहरुसँग कुरा गर्दै समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण लगायतका प्रक्रिया पूरा भइसकेपछि नयाँ सरकार गठन हुनलागि १० दिन जति लाग्नसक्ने अनुमान गरेका हुन् ।
'सरकार बनाउन कुरा मैले यहीँ एकिन गरेर भन्न सक्दिनँ। हामी अन्दाज एउटा गर्न सक्छौँ कि अझै १० दिन जस्तो लाग्ला भनेर,' उनले भने।
फागुन २१ गते सम्पन्नभएको निर्वाचनबाट रास्वपाले लगभग दुईतिहाई मत प्राप्त गरेपछि रास्वपाको एकल सरकार बन्दैछ। निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट थप ५७ सिट पाउनेछ ।
रास्वपाले सरकार बनाउनुअघि समानुपातिकतर्फका सांसदको नामावली टुंग्याउँदै छ।
जसका लागि रास्वपाले सचिवालय बैठक बोलाएको छ।
स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भर्चुअल तरिकाबाट जोडिने भएका छन् ।