अछाम । नेकपा एमाले अछामको ९औं जिल्ला अधिवेशन शनिबारदेखि सदरमुकाम मंगलसेनमा चलिरहेको छ । अधिवेशन उद्घाटन भएको चारदिन बितिसक्दा पनि पदाधिकारी टुंगो लगाउन समस्या भएको छ ।
आज बिहान सर्वसम्मतिको अन्तिम प्रयास गरिएको थियो । तर उक्त प्रयास पनि असफल बनेको हो । अध्यक्ष पदका आकांक्षी चन्द्र बोहरा र बम बहादुर विसीले तत्काल चुनावी प्रक्रिया थाल्न माग गरेका छन् ।
मंगलबारदेखि नेतृत्व चयनमा सहमतिको लागि छलफल चलिरहेपनि आकांक्षीले दाबी नछोडेपछि सहमतिको सम्भावना कम हुँदै गएको हो । अब एमालेले अछामको मतदानबाटै नयाँ नेतृत्व चयन गर्ने सम्भावना देखिएको छ ।
स्रोतका अनुसार यदि चुनाव भएमा दुई समूहबीच प्रतिस्पर्धा हुनेछ । शिवप्रसाद उपाध्याय र बम बहादुर विसीको प्यानलै चुनावी मैदानमा जान सक्ने सम्भावना छ । यद्यपि घोषणा हुन भने बाँकी छ । उनीहरु निर्वाचनका लागि प्यानल बनाउन जुटेका छन् ।
अहिलेसम्म उपाध्यायलाई नै अध्यक्ष बनाउने गरी सर्वसम्मतिको प्रयास भइरहेको थियो । उनलाई केन्द्रीय नेताहरुको बलियो समर्थन रहेको स्रोत बताउँछ । तर यता चन्द्र बोहरा र बम बहादुर विसीको जिल्लामा सबैसँग राम्रो सम्बन्ध रहेको नेताहरु बताउँछन् ।
जसकारण उनीहरुले निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिसँग माग गरेका छन् । अधिवेशनमा जिल्लाभरबाट ४ सय ४७ जना प्रतिनिधिहरु सहभागी छन् ।