कैलाली । सुदूरपश्चिम प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापालाई दिइएको छ ।
मंगलबार भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री कमलबहादुर शाहले आफू भारतमा रहँदासम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई दिएका हुन् ।
भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत प्रस्थान गरेको छ । बैशाख १६ गतेदेखि २२ गतेसम्मको भ्रमणको समय तालिका रहको छ।
मुख्यमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक नरेशकुमार शाहीसमेत छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा सहभागी छन् ।