स्याङ्जा । स्याङ्जाजिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् ।
आज बिहान जिल्लाको वालिङ नगरपालिका–७ लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा ताप्केबाट वालिङ आउँदै गरेको बीएए ७९०५ नम्बरको जिप चालकले नियन्त्रण गुमाउँदा सडक छेउमा पल्टिदाँ उक्त दुर्घटना भएको हो ।
मृत्यु हुनेमा वालिङ नगरपालिका–७ का २५ वर्षीय राजेन्द्र बिरकट्टा रहेका छन् ।
जिल्ला प्रहरी स्याङ्जाका दिएको जानकारी अनुसार जिपमा चालकसहित १९ जना सवार थिए ।
यसैगरी, घाइते हुनेहरुमा मायादेवी सुनारीकी १२ वर्षीया छोरी कर्मिसा सुनारी, वालिङ–७ की जैकला सारू, पोखरा महानगरपालिका–९ की रुक्सना थापा, देवदह नगरपालिका–५ की कमला थापा, बिरुवा गाउँपालिका–६ का टोपबहादुर थापा, वालिङ–७ की गौमाया सारू, बेलबहादुर आले, कुमार सारू र ज्ञानुमाया सारू रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा अन्य पाँच जना सामान्य घाइते भएका छन् ।
यस्तै दुर्घटनामा वालिङ–७ की ४६ वर्षीया रूपकला सारू, रुपन्देहीको गैडहवा–४ की ५५ वर्षीया सुमित्रा गुरुङ र नवलपरासी पूर्व कावासोती नगरपालिका–५ की ४१ वर्षीया मायादेवी सुनारी गम्भीर घाइते भएका छन् ।
दुर्घटनापछि सबै घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पुर्याइएको थियो । त्यसमध्ये गम्भीर र मध्यम अवस्थाका १२ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
सामान्य घाइते भएका २८ वर्षीय चालक मिनबहादुर सारूलाई हाल प्रहरीको नियन्त्रणमा राखिएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।