काठमाडौं । हालै सम्पन्न नेकपा एमाले अछामको जिल्ला अधिवेशनप्रति पार्टीबाट निष्कासित नेता डा. भीम रावले कडा टिप्पणी गरेका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत् डा. रावलले अधिवेशनमा अभ्यास गरिएको प्रक्रिया र नेतृत्व चयनको तरिकालाई “टिके चलनको निकृष्ट नमूना” को संज्ञा दिएका हुन् ।
मंगलसेनमा सम्पन्न जिल्ला अधिवेशनमा तीन दिनसम्म चुनाव प्रक्रिया नै अघि नबढाइएको भन्दै उनले असन्तोष व्यक्त गरे । “जनताको बहुदलीय जनवादलाई बामाले ओलिवादमा च्यूत गरिएको पछिल्लो भद्दा उदाहरण अछाम जिल्ला अधिवेशनमा छताछुल्ल भएको छ,” डा. रावले लेखेका छन्।
उनका अनुसार अन्ततः चार जनाको सानो समूहमार्फत स्वेच्छाचारी ढंगले पदाधिकारी र सदस्यहरूको नाम घोषणा गरिएको थियो, जसले लोकतान्त्रिक अभ्यासको उपहास गरेको छ ।
मंगलबार विवादकाबीच शिव प्रसाद उपाध्यायको अध्यक्षतामा नयाँ जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गिएको थियो । अध्यक्ष पदका अन्य आकांक्षीहरुले चुनावी प्रक्रिया अघि बढाउन माग गरेका थिए ।
तर निर्वाचन कमिटीले उपाध्याय नेतृत्वमा नयाँ कमिटी घोषणा गरेको थियो । यसले एमाले अछामका नेताहरु झनै असन्तुष्ट बनेका छन् ।
उसो त भीम रावललाई कारबाही गरिएपछि अछाममा एमाले कमजोर अवस्थामा छ । अब असन्तुष्ट नेताहरुले भीम रावलको पक्ष लिने पनि सम्भावना बढेको छ ।