काठमाडौं । आज नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला नाउपाका संरक्षक रेशम चौधरीलाई काठमाडौं प्रहरी परिसरले कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको छ ।
रेशम चौधरीलाई अदालतको आदेशअनुसार प्रहरीले पक्राउ गरेको खुलेको छ ।
चौधरीलाई यसअघि २० वर्षको जेल सजाय तोकिएको भए पनि राष्ट्रपतिबाट आममाफी पाएर उनी बीचमै जेलमुक्त भएका थिए ।
कारागारको रेकर्डमा उनले न्यूनतम सजाय भुक्तानी नगरेको पाइएपछि अदालतले सो आदेश दिइएको हो ।
प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।
कति जेल सजाय भुक्तानी गर्न बाँकी छ भन्ने चाहिँ अदालतमा पेश गरेर अदालतले पेश गरेपछि थाहा हुने जनाइएको छ ।
टीकापुर घटनामा दोषी ठहरिएका चौधरीलाई दिइएको आममाफी विरुद्ध तत्कालै सर्वोच्चमा रिट परेको थियो ।
२०७२ भदौ ७ को टीकापुर घटनामा मारिएका इस्न्पेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लंघनको घटनामा संलग्न चौधरीलाई राष्ट्रपतिले माफी मिनाहा दिनले कानुनी राज्यको धज्जी उडाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।