काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले कार्यक्रमको मुखमै आएर पक्राउ गर्नु अलोकतान्त्रिक भएको बताएका छन् ।
बुधवार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि डिल्लीबजार कारागार भेटन् पुगेका राउतले सरकारको कदम अलोकतान्त्रिक रहेको बताएका हुन् ।
उनले भने ,‘कार्यक्रमको मुखमै आएर पक्राउ गर्नु त प्रक्रिया नै भएन । दुई चार दिनअघि नै किन जानकारी गरिएन । आज नै पत्र लेखिएको छ सर्वोच्चबाट ।’
उनले अधिकार माग्नै नहुने, बोल्नै नहुने जस्तो व्यवहार सरकारले देखाएको प्रतिक्रिया दिए ।
उनले थपे ,‘कार्यकर्ताहरू कार्यक्रमका लागि भेला भइसक्नुभएको थियो । यो कस्तो भयो भने हामीले आफ्ना अधिकार माग्नै नहुने, बोल्नै नहुने, पार्टी खोल्नै नहुने, पार्टी एकीकरण गर्नै नहुने, बलियो बन्नै नहुने अलोकतान्त्रिक किसिमको व्यवहार देखियो ।’
उनले पार्टी एकीकरण गरेरै छोड्ने बताए । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज पार्टी एकता गर्ने कार्यक्रम थियो ।
प्रज्ञा भवनमा कार्यक्रम शुरु हुनु पहिला नै संरक्षक चौधरीलाई पक्राउ गरेको हो । पक्राउपछि अहिले चौधरीलाई डिल्लीबजार कारागारमा लगिएको छ ।