काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रम जनअपेक्षा अनुकूल नभएको आरोप लगाएका छन् ।
यही जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि सोमबार प्रतिनिधिसभामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
“नीति तथा कार्यक्रमले न त विगतको समीक्षा गरेको छ, न वर्तमान संकटसँग जुध्न सक्ने योजना बोकेको देखिन्छ । यसले जनता र राष्ट्रका गहिरा आवश्यकता सम्बोधन गर्न असमर्थ देखिएको छ,” उनले भने ।
उनले सत्तारूढ पक्षकै सांसद मौन रहनु गम्भीर संकेत भएको बताए । “जब आफ्नै सांसदहरूमा उत्साह पैदा हुँदैन, त्यस्तो नीति कार्यक्रमले आम जनताको मन जित्न सक्दैन,” उनले भने ।
गत वर्ष नीति तथा कार्यक्रममाथि लोकतान्त्रिक विधिबाट व्यापक छलफल र बहस गरेर अन्तिम रुप दिन खोजिएको भएपनि यस वर्ष सरकारले उक्त प्रक्रिया भत्काएको पनि उनको भनाइ छ ।