वीरगन्ज । प्रहरीले वीरगन्जमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
बाराको प्रसौनी गाँउपालिका-६ बेलहिया स्थायी घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका-१३ श्रीपुरमा बस्ने ५० वर्षीय दिनानाथ साह पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार श्रीपुरकै ४० वर्षीया एक विवाहित महिलालाई शनिबार मध्यरातमा साह र उनीसँगै रहेका अर्का एक पुरुषले मिलेर बलात्कार गरेका थिए ।
मध्यरातमा एक्लै भएको मौका छोपेर ती दुवै पुरुषले डर धम्की देखाएर बलात्कार गरेको पीडित महिलाको आरोप छ । आइतबार बिहान पीडित महिलाले प्रहरी कार्यालयमा पुगेर घटनाबारे जानकारी दिएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपित मध्येका साहलाई पक्राउ गरिएको छ ।
अर्का आरोपित पुरुषको पहिचान खुलिसकेको र फरार रहेका छन् । उनको खोजी कार्य जारी र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।