कैलाली । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बर बहादुर बिक हाल सुदूरका पहाडी जिल्लाहरूको निरीक्षण र अनुगमनमा सक्रिय छन् ।
हालै सुदूरपश्चिम सरुवा भएर आएका डीआईजी बिकले प्रदेश अन्तर्गतका दुर्गम जिल्ला प्रहरी कार्यालयहरूको भौतिक र प्रशासनिक अवस्थाबारे प्रत्यक्ष जानकारी लिन भ्रमण थालेका हुन् ।
यसैक्रममा, मंगलबार उनले जिल्ला प्रहरी कार्यालय डोटीको विस्तृत निरीक्षण तथा अनुगमन गरे । निरीक्षणका क्रममा उनले कार्यालय भवन, विभिन्न शाखा, ब्यारेक, मेस, क्वार्टर गार्ड तथा हिरासत कक्षको अवस्था अवलोकन गरे । उनले जिल्ला प्रहरीको समग्र अवस्था, चुनौती तथा स्रोत–साधनबारे समेत जानकारी लिए ।
निरीक्षणपछि डीआईजी बिकले जिल्ला प्रहरी कार्यालय डोटी तथा मातहतका प्रहरी युनिट प्रमुखहरूलाई स्पष्ट निर्देशन दिँदै कार्यक्षमता अभिवृद्धि, शान्ति–सुरक्षा कायम, र जनमैत्री सेवामा जोड दिन आग्रह गरे ।
यसअघि आइतबार उनले जिल्ला प्रहरी कार्यालय बाजुरा र अछामको समेत निरीक्षण गरेका थिए । सोमबार भने उनी अछामको प्रमुख पर्यटकीय स्थल रामारोशन क्षेत्रको भ्रमणमा पुगेका थिए ।