काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको पछिल्लो आदेशलाई अपूर्ण र अन्यायपूर्ण रहेको निष्कर्ष निकालेको छ ।
पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानुनी पालना गर्न बाध्य भएपनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको मत राख्दछ । विधिको शासनप्रति आस्था राख्ने नागरिकका लागि चिन्ताको विषय बनेको छ ।’
सर्वोच्च अदालतबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषय बनेको रास्वपाले जनाएको छ ।
रवि लामिछानेले संगठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको अभिमत आम जनतामा गड्दै गएको रास्वपाको निष्कर्ष छ ।