दोलखा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले अब कांग्रेसलाई सशक्त र नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
दोलखाको चरिकोटमा निर्माण हुने बीपी स्मृति भवनको शिलान्यास समारोहमा शनिबार बोल्दै उनले कांग्रेस अब भावुक स्मृतिमा मात्र सीमित नभई उत्तरदायी नेतृत्वमार्फत विश्वासिलो भविष्य निर्माण गर्ने पार्टी बन्नु पर्ने बताए।
शिवाकोटीले संगठनमा शक्ति र सेवामा संस्कार आवश्यक भएको उल्लेख गर्दै सबै पक्षलाई सम्बोधन गरेर अघि बढ्न कांग्रेससँग विकल्प नभएको स्पष्ट पारे।
'हिजोका पुस्ताले कांग्रेसप्रति भावनात्मक निष्ठा राखे, तर आजको जेनेरेशन जेड पुस्ता नतिजा र अवसरको खोजीमा छन्। त्यसैले हामीले पुराना पुस्ताको भरोसा पुनःस्थापित गर्नुका साथै नयाँ पुस्ताको आकर्षण पनि हासिल गर्नुपर्छ,' उनले भने।
पुराना पुस्ताको योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा राख्दै उनले थपे, 'संघर्षको सम्मान, योगदानको कदर र अनुभवको उपयोग पुराना पुस्ताका लागि आवश्यक छ। त्यस्तै, डिजिटल पहुँच, नवप्रवर्तनशील कार्यक्रम र नेतृत्वमा अवसर नयाँ पुस्ताका लागि जरुरी छन्। कांग्रेस त्यस्तो वृक्ष हो जहाँ भरोसाका जरा र भविष्यका पातहरू सँगै हुर्कन सक्छन्।'
उनले कांग्रेस अहिले सत्ताको नेतृत्वमा रहेकाले जनताप्रति जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा पनि जोड दिए । 'आज कांग्रेस सरकारको नेतृत्वकर्ता हो। हामीसँग नीति निर्माण, कार्यान्वयन र परिणाम दिन सक्ने अवसर छ। अब भ्रष्टाचारमुक्त प्रशासन, सेवामूलक जनप्रतिनिधित्व, संघीयता र स्थानीय समन्वयमा प्रभावकारिता, साथै शान्ति, विकास र न्यायमा अग्रसरता देखाउन जरुरी छ,' शिवाकोटीको भनाइ थियो।