काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहकी पत्नी सबिना काफ्लेले सामाजिक सञ्जालमा भाइरल बनेको विमानस्थलको पारिवारिक तस्बिरबारे पहिलो पटक सार्वजनिक रूपमा स्पष्टीकरण दिँदै आफ्नो चरित्रहत्या गर्न खोजिएको आरोप लगाएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम महाधिवेशनमा सहभागी भएर चितवनबाट काठमाडौं फर्किने क्रममा खिचिएको तस्बिरलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भएपछि काफ्लेले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
उनले तस्बिरमा सुरक्षाकर्मी ९पिएसओ०ले बोकेको झोला आफ्नो नभई सुरक्षाकर्मीको आफ्नै निजी झोला भएको स्पष्ट पारिन्। समाचार प्रकाशन वा प्रसारण गर्नुअघि तथ्य बुझ्न सञ्चारमाध्यमलाई आग्रह गर्दै उनले आधारहीन अड्कलबाजीले आफ्नो प्रतिष्ठामा आघात पुगेको उल्लेख गरेकी छन्।
‘जुन सुरक्षाकर्मीले त्यो ब्याग बोक्नुभएको छ, त्यो ब्याग उहाँको आफ्नै निजी हो। तर यहाँ अनेक शंका र अड्कलबाजीका आधारमा मेरो चरित्र हत्या गर्न खोजिएको छ,’ काफ्लेले वक्तव्यमा उल्लेख गरेकी छन्।
प्रधानमन्त्री साह महाधिवेशन बीचमै पत्नी सबिना काफ्ले र छोरीसँग बुद्ध एअरको उडानमार्फत काठमाडौं फर्किएका थिए। विमानस्थलमा खिचिएको तस्बिरमा प्रधानमन्त्रीले छोरी बोकेको र काफ्लेको हातमा मोबाइल मात्र देखिएको थियो। त्यसै क्रममा सुरक्षाकर्मीले झोला बोकेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उक्त झोला प्रधानमन्त्री पत्नीको भएको दाबी गर्दै आलोचना भएको थियो।
काफ्लेले केही सञ्चारमाध्यमले सत्यता नबुझी समाचार प्रकाशित गरेर महिलामाथि चरित्रहत्या गर्ने प्रवृत्तिलाई बढावा दिएको आरोप लगाएकी छन्। विगत केही समयदेखि आफूलाई पुराना राजनीतिक नेताहरूका पत्नीहरूसँग तुलना गर्दै अनावश्यक टिप्पणी गरिँदै आएको उल्लेख गर्दै उनले यसअघि मौन बसे पनि यसपटक सार्वजनिक रूपमा बोल्न बाध्य भएको बताइन्।
उनले नयाँ नेतृत्व आए पनि समाज र सञ्चारमाध्यमको दृष्टिकोणमा अपेक्षित परिवर्तन नआएको गुनासो गर्दै यस्ता विषयले व्यक्तिको मानहानी गर्न सक्ने भएकाले पत्रकारिता गर्दा तथ्य पुष्टि गर्ने जिम्मेवारी अझ बढी आवश्यक रहेको बताएकी छन्।
प्रेस काउन्सिल वा कानुनी प्रक्रियामा जान सकिने अवस्था भए पनि आफूले आम नागरिकको हैसियतमा मात्र आफ्नो धारणा राखेको उल्लेख गर्दै काफ्लेले यस्ता घटनाबाट सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि पाठ सिक्नुपर्ने आवश्यकता औंल्याएकी छन्।
‘यो सानो विषय हो, तर यस्ता साना विषयले पनि व्यक्तिको प्रतिष्ठामा गम्भीर असर पार्न सक्छ। त्यसैले तथ्यमा आधारित समाचार र जिम्मेवार अभिव्यक्ति आवश्यक छ,’ उनले भनिन् ।