Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

टेम्पो भिरबाट फालिएको घटनामा धनादेवीले पाइन् ५ लाख क्षतिपूर्ति

टेम्पो भिरबाट फालिएको घटनामा धनादेवीले पाइन् ५ लाख क्षतिपूर्ति

बुधवार , आषाढ १०, २०८३

कैलाली । कैलालीको चुरे क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीले टेम्पो भीरबाट खसालेको घटना सुल्झिएको छ।  

वन कर्मचारी र पीडित पक्ष टेम्पो धनीका घनश्याम धामी र उनकी पत्नी धनदेवी धामीबीच सहमति जुटेपछि विवाद समाधान भएको हो ।

अत्तरियास्थित मालाखेती प्रहरी चौकीमा भएकोसहमतिअनुसार वन कार्यालयका कर्मचारीहरूले आपसमा रकम संकलन गरेर पीडित परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिएका छन् ।

यसअघि वन क्षेत्रमा राखेर व्यापार गरिरहेको भन्दै वन टोलीले टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि यो घटनाले राष्ट्रिय रूपमै चर्चा पाएको थियो । सडक किनारमा व्यापार गरेको आरोपमा गत जेठ २९ गते  वनका कर्मचारीले धनादेवी धामीको टेम्पो धकेलेर भीरबाट खसालिदिएका  थिए । 

जेठ ३० गते अनुसन्धान गर्न  १२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो । १० जनालाई छोडेर टेम्पो खसाल्ने कार्यमा बढी दोषी देखिएका दुई जनालाई प्रहरी हिरासतमा राखेर मुद्दा चलाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार हिरासतमा रहेका कर्मचारीको मुद्दा सरकारी वकिल कार्यालयमा पुगेको थियो ।

तर, हिजो क्षतिपूर्ति पाएपछि पीडित पक्षले वन कर्मचारीविरुद्ध दिएको जाहेरी फिर्ता लिने सहमति पनि भएको थियो ।

त्यससँगै कैलाली प्रहरीको हिरासतमा रहेका सव डिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा पनि थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई ७–७ हजार धरौटीमा छाडेको हो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077