दोलखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीलाई सशक्त र नयाँ ढंगले अगाडि लैजानुपर्नेमा जोड दिएका छन् ।
दोलखाको चरिकोटमा निर्माण हुने बीपी स्मृति भवनको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै नेता शिवाकोटीले संगठनमा शक्ति र सेवामा संस्कार हुनुपर्ने भन्दै सबैलाई सम्बोधन गरेर अगाडि बढ्नुको विकल्प कांग्रेससँग नभएको बताए ।
उनले भने–‘हामी जुन कांग्रेस बनाउने सपना देख्दैछौं त्यो यस्तो हुनुपर्छः जहाँ जेन्जी पुस्ता आशावादी हुन्छ, जहाँ पुराना पुस्ता गौरबान्वित हुन्छन्, जहाँ कार्यकर्ता सक्रिय महसुस गर्छ र जनता सन्तुष्ट महसुस गर्छ ।’
गृह जिल्लामा बन्न लागेको उक्त पार्टी कार्यालयको भवनको सन्दर्भलाई जोडेर नेता शिवाकोटीले भने–‘आज हामीले नयाँ पार्टी कार्यालयको शिलान्यास गरेका छौँ । शिलान्यासपछि बन्ने यो पार्टी कार्यालय केवल ईँटा र सिमेन्टको संरचना होइन, यो दोलखाले बोकेको बलिदान, संगठन र संकल्पको थालनी हो ।’
उनले आजको शिलान्यास संगठनको पुनरुत्थान, विचारको पुनर्स्थापना र नेतृत्वको पुनर्निर्माणको शंखघोष भएकोसमेत बताए ।
उनले कांग्रेसलाई जीवन्त राख्न परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै अब जेनजी पुस्तालाई सम्बोधन गर्न ढिला गर्न नहुने बताए । उनले भने–‘हिजोका पुस्ता कांग्रेसप्रति भावनात्मक निष्ठा राख्थे । आजका जेन्जी पुस्ता नतिजा र अवसरको खोजीमा छन् । हामीले अब पुराना पुस्ताको भरोसा पुनःस्थापित गर्नुपर्छ र नयाँ पुस्ताको आकर्षण प्राप्त गर्नुपर्छ।’
भ्रातृ तथा शुभेच्छुक संस्थाहरु ऊर्जाका स्रोत भएको उल्लेख गर्दै उनले भने–‘नेविसंघ जेनजी पुस्ताको नेतृत्व प्रयोगशाला, महिला संघ लैङ्गिक न्यायको प्रतिनिधि हुन् भने तरुण दल, ट्रेड युनियन, प्रेस युनियन जस्ता संस्थाहरू अभियान, नीति र संगठनका संवाहक हुन् । यी संस्थालाई सक्रिय, जवाफदेही र प्रभावकारी बनाउने योजना अगाडि बढाउनु आवश्यक छ ।’
नेता शिवाकोटीले कांग्रेसको अबको बाटो संगठन, विचार र संवाद भएको बताउँदै भने–‘अब हामीले विचारमा स्पष्टता,कार्यकर्तासँग नियमित संवाद, नीतिमा नवीनता र जनतासँगको सम्बन्धमा आत्मीयता बढाउनुपर्छ ।’
चार करोड लगानीमा बन्ने उक्त भवन दुई वर्षभित्र सक्ने योजना रहेको छ ।