काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनलाई गम्भीर रूपमा लिएर विश्वले कार्बन उत्सर्जनमा तीव्र कटौती गर्न आवश्यक रहेको बताएका छन् ।
विश्व वातावरण दिवसको सन्दर्भमा कांग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आइतबार सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले नेपालले जलवायु न्यायको लागि विश्व समुदाय समक्ष आफ्नो स्पष्ट धारणा दृढताका साथ निरन्तर राख्नुपर्नेमा जोड दिए ।
सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षको रूपमा पुष्टि हुनु स्वयंमा गहिरिँदो जलवायु संकटको चेतावनी भएको बताउँदै सभापति देउवाले केही राष्ट्रहरूले उत्सर्जन बढाइरहँदा, नेपाल जस्ता जलवायु परिवर्तनका दृष्टिकोणले संवेदनशील राष्ट्रहरूले त्यसको असर भोगिरहनु अन्यायपूर्ण र दुःखद अवस्था भएको बताए ।
उनले कार्यक्रममा वातावरण तथा जलवायु परिवर्तन सरोकार सम्बन्धमा सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार रहेको पनि बताए ।
सबै राजनीतिक दलहरूलाई एउटै साझा मञ्चमा ल्याई संवाद, सहमति, समन्वय र सहकार्यका माध्यमबाट अघि बढ्ने वातावरण तयार गर्न प्रतिबद्ध रहेको र पार्टी सभापतिको हैसियतले स्वयं नेतृत्व लिन तयार रहेको उनले बताए ।