काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका सबैलाई विनाशर्त रिहा गर्न माग गरेका हुन् ।
सांसद दिपकबहादुर सिंहलाई प्रहरी परिसरभित्रैबाट नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्थाविपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी प्रयास भन्दै राप्रपा भर्त्सना गरेको छ ।
श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गिरफ्तार हुनुभएका नेता, कार्यकर्ताहरुको रिहाइ अविलम्ब र बिनासर्त रिहाइ गर्न राप्रपा सरकारसँग माग गर्दछ । गिरफ्तार हुनुभएका नेता, कार्यकर्ताहरुको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्नेछ ।”
धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आइतबार साँझ बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक नेताहरूको रिहाइको माग गरेको हो ।
बैठकले काठमाडौंको नारायणचौर, नक्साल क्षेत्रमा भएको प्रशासनिक हस्तक्षेपप्रति भर्त्सना गर्दै विरोध जनाएको छ।