जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशको विकास ‘रकेटको गतिमा’ अघि बढ्ने दाबी गरेका छन् ।
आइतबार जनकपुरमा आयोजित एक समारोहमा बोल्दै उनले विकास निर्माणमा भइरहेको ढिलासुस्तीलाई ‘भ्रष्टाचारभन्दा पनि गम्भीर अपराध’ भन्दै कडा आलोचना गरेका हुन् ।
मधेश प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकासका काममा गति ल्याउन सरकारले उच्च प्राथमिकता दिएको बताए ।
“यो जमाना प्रविधि र एआई को हो । बामे सरेर होइन, अब हामीले रकेटको गतिमा विकास गर्नुपर्छ,” ओलीले भने, “ढिलासुस्तीले देशलाई पछाडि पार्छ, भ्रष्टाचारलेभन्दा पनि यो गम्भीर अपराध हो।”
कार्यक्रममा उनले मधेश प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्नेसमेत योजना बनिरहेको जानकारी दिए ।