काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोडभन्दा बढीको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारको अनुसन्धान अनुसार सोडारीले सार्वजनिक पद सम्हालेको मिति २०७४ माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्मको अवधिमा कुल वैधानिक आय रु. ८५ लाख ५१ हजार ३३४.९२ मात्रै देखिएको छ ।
तर, सोही अवधिमा घर निर्माण, जग्गा खरिद, बिमा, चुनाव खर्च, छोरीको अध्ययन, छोराको विवाह, शेयर खरिद, मसला उद्योगमा लगानी लगायत विभिन्न शीर्षकमा रु. १ करोड ९३ लाख ८९ हजार ६३७.४९ खर्च गरेको देखिएको छ।
यसरी कुल खर्च र लगानी आयभन्दा रु। १ करोड ८ लाख ३८ हजार ३०२.५७ बढी रहेको पुष्टि भएपछि अख्तियारले यो रकम गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति भएको ठहर गरेको छ ।
अख्तियारले सोडारीले आर्जन गरेको शंकास्पद सम्पत्तिको एक भाग श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा राखेको पुष्टि गरेको छ । यसमा जग्गा, घर, तथा बैंक मौज्दात समावेश छन् ।
त्यसैले आयोगले दीर्घ बहादुर सोडारीसँगै श्रीमती र छोरालाई समेत प्रतिवादी बनाएर प्रचलित कानुनअनुसार सम्पत्ति जफत गर्न विशेष अदालतमा मुद्दा दायर गरेको हो । सोडारी कैलाली ४ (१) बाट एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन् ।