कैलाली । सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको गठन, सञ्चालन तथा सेवाका सर्तहरू सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट बहुमतका आधारमा पारित भएको छ ।
सोमबार बसेको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री हिरा सार्कीले विधेयक पेस गरेका थिए ।
मतदानका क्रममा विपक्षी दलका कुनै पनि सदस्य उपस्थित थिएनन् । यो विधेयक विगतदेखि नै विवादमा रहँदै आएको थियो।
सीमित कर्मचारीलाई मात्र लाभ पुग्ने गरी विधेयक तयार पारिएको भन्दै राजधानीमा विद्यार्थीहरूले एक सातासम्म विरोध प्रदर्शन गरेका थिए।
त्यस्तै, स्थानीय तहका कर्मचारीले विधेयक हुबहु पारित गर्नुपर्ने माग गर्दै सेवासमेत अवरुद्ध गरेका थिए। अन्ततः प्रदेशसभाले कर्मचारीहरूको मागअनुसार विधेयकमा कुनै संशोधन नगरी सोही रूपमा पारित गरेको हो ।