काठमाडौं । नेपाल प्रहरीमा गत साता जेष्ठताका आधारमा ११ एसएसपीको डिआइजीमा बढुवा भयो। सिनियर टोली मात्र बढुवा गर्दा ११२ को टोलीबाट कोही परेनन्।
डिआइजी लगत्तै एसएसपी बढुवा टुंगाउने गृहमन्त्री रमेश लेखकको तयारी थियो। तर, तिव्र चलखेलका कारण रोकिएको छ।
खासगरी जुनियर एसपीहरुले गृहमन्त्रीमाथि अत्याधिक दबाब दिएपछि बढुवा रोकिएको स्रोत बताउँछ । बढुवा समितिका अध्यक्ष रहेका गृहसचिव गोकर्णमणि दुवाडी विदेश भ्रमणमा जानुअघि नै बढुवा निकाल्ने तयारी भएपनि सहमति जुट्न सकेन । उनी आइतबारदेखि विदेशमा छन् ।
११ रिक्त पदमा बढुवाका लागि हाल तीन दर्जन प्रतिस्पर्धामा छन्। त्यसमा पनि जुनियरहरु शक्तिशाली भएपछि बढुवा लम्बिने सम्भावना देखिएको छ।
ज्येष्ठताका आधारमा विमल बस्नेत र प्रकाश रानाभाट सबैभन्दा अगाडि छन्। त्यसपछि कमल थापा, तुलबहादुर कार्की, राकेश सिंह, राजिब कुमार बस्नेत, दिपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्र फुयाल, दिपेन्द्र शाही, रामप्रकाश शाह, प्रबिण धिताल, दयानिधी ज्ञवाली, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल र सुरेशराज काफ्ले मुख्य प्रतिस्पर्धामा छन्।
त्यस्तै, अमरेन्द्र सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन तिमल्सिना र रमेश पण्डित पनि प्रतिस्पर्धामा छन्।
जुनियर रहेका जनकबहादुर शाही र चक्रराज जोशीलाई जसरी पनि बढुवा गर्न सुदुरपश्चिममका नेताहरू लागिपरेका छन्।
त्यस्तै, श्यामसिंह चौधरी, वीरेन्द्र शाही, पदमबहादुर बिष्ट र योगेन्द्रसिंह थापाको बढुवाका लागि पनि गृहमन्त्रीमाथि क्षेत्रीय दबाब परेको छ। उनीहरु अन्य एसपीभन्दा तीन वर्ष जुनियर हुन् । तीन वर्ष सिनियरलाई छुटाएर आफ्नो क्षेत्रलाई बढुवा गर्न गृहमन्त्रीमाथि नैतिक संकट परेको छ ।
कतिपय सिनियर त बदनाम समेत छन्। एसपी विमल बस्नेत घुसकाण्डमा बढुवा रोक्का भएका अधिकृत हुन्। त्यस्तै, कमल थापामाथि हनि ट्रायपको गिरोहलाई सघाएको आरोपमा अहिले पनि सिआइबीले अनुसन्धान गरिरहेको छ। गुप्तचरबाट आएका केदार खनाल कार्यसम्पादनमा निकै कमजोर मानिन्छन्। एसपी प्रकाश रानाभाट पनि धनुषामा हुँदा कारबाहीमा परेका अधिकृत हुन्।