काठमाडौं । भिजिट भिसा प्रकरणमा संलग्नताको आरोप लगाउँदै गृहमन्त्रीको राजीनामा मागिरहेका विपक्षी दलहरू आफ्नो अडानबाट पछि हटेका छन् ।
राजीनामा माग्दै १२ जेठबाट सदन अवरुद्ध गर्दै आएका विपक्षी दलले प्रतिनिधिसभाको आजको बैठक चल्न दिने भएका हुन् । यसका लागि उनीहरूले भिजिट भिसा प्रकरणमा छानबिनका लागि सरकार तयार हुनु पर्ने शर्त राखेका छन् ।
भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका गृहमन्त्री लेखकले सदनमार्फत् धारणा व्यक्त गर्न सभामुखसँग पटक–पटक समय लिए पनि विपक्षीले बोल्न दिएका थिएनन् ।
मंगलबार भने विपक्षी दलहरूले गृहमन्त्रीलाई बोल्न दिने भएका छन् । तर, त्यसका लागि सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकार तयार भए गृहमन्त्रीलाई बोल्न दिने विपक्षीको भनाइ छ ।
यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजीट भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईको बयान शुरु गरेको छ ।
१८ जेठमा उपस्थित हुने शर्तमा उनलाई नियन्त्रणमुक्त गरेको अख्तियारले आइतबारदेखि बयान थालेको हो ।
अख्तियार स्रोतका अनुसार, अध्यागमन कार्यालयबाट केही कर्मचारीहरुले मानव तस्करीको काम समेत गरेको खुलेको छ ।
नेपाली महिला कामदारका लागि जोखिमयुक्त मुलुकमा लैजानका लागि भिजिट भिसाको प्रयोग गर्ने क्रममा चर्को रुपमा असुलीको काम भइरहेकोबारे केही सूचना आएको र त्यसबारे समेत अनुसन्धान भइरहेको अख्तियार स्रोतले बतायो ।
अख्तियारमा नियमित बयान दिन जानुपर्ने भएपछि गृहमन्त्रालयका सहसचिव भट्टराई एक दिन गृह मन्त्रालयमा हाजिर भएर बिदामा बसेका छन् । उनलाई कार्यालयले दिएको र व्यक्तिगत दुवै फोन अख्तियारको नियन्त्रणमा छ ।
सहसचिव भट्टराई यही जेठ ७ गते पक्राउ परेर हाजिरी जमानीमा छुटेका छन् ।