सर्लाही । सर्लाहीको बलरा नगरपालिका–५ भगवानपुरमा अवस्थित एक फर्निचर उद्योगमा तस्करीका लागि संकलन गरिएको स्याउ बरामद गर्न गएको सशस्त्र प्रहरीमाथि सोमबार राति स्थानीयको भीडले ढुंगामुढा र पेट्रोल बम प्रहार गरेको छ ।
घटनामा सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी कृष्ण ढकालको नेतृत्वमा भन्सार अधिकृत र नेपाल प्रहरीको टोली समेत सहभागी थियो । सोमबार राति करिब ९ बजे १०० भन्दा बढी सशस्त्र प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा मनोज मोहनकुमार सिंहको फर्निचर उद्योगमा छापा मारेको थियो।
टोलि गोदाममा पुग्नेबित्तिकै १०० भन्दा बढी स्थानीयको भीडले अचानक आक्रमण गरेपछि सुरक्षाकर्मीहरूले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिन प्रयास गरेका थिए ।
तर भीडको आडमा तस्करहरूले स्याउ लोड गरिएका ६ वटा गाडी भागाएर भारतीय सीमा पार गर्न सफल भए। सुरक्षाकर्मीहरूले एउटा गाडी मात्र नियन्त्रणमा लिन सके, जसमा करिब ५ लाख रुपैयाँ बराबरको स्याउ थियो । तस्कर समूहको ढाड भने भाँचिएको सशस्त्र प्रहरीको दाबी छ ।
डीआईजी ढकालका अनुसार सो स्याउ चीनबाट ल्याएर सर्लाही हुँदै भारत तस्करी गर्न राखिएको पुष्टिसमेत भएको छ। उनका अनुसार घटनापछि १५ लाख रुपैयाँ मूल्यको गाडी र साढे ४ लाख मूल्य बराबरको स्याउ भन्सारमा बुझाइएको छ। घटनाको थप अनुसन्धान थालिएको छ ।