Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकता : उपराष्ट्रपति

प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकता : उपराष्ट्रपति

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिगो विकासका लक्ष्य प्राप्त गर्न वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन् । उनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले हिउँको मात्रा घट्दा गएको र वनक्षेत्रको विनाशले जैविक विविधतामा खतरा निम्त्याएको उल्लेख गरे ।

शुभकामना सन्देशमा भनिएको छ, 'नदी तथा जलस्रोतको दुषित अवस्थाले सुरक्षित खानेपानीको अभाव सिर्जना भएको छ। अतिवृष्टि, अनावृष्टि, खडेरी, सुक्खाग्रस्त समस्याको चपेटामा हामी पर्दै गएका छौँ। तराई–मधेस क्षेत्रमा त भूमिगत पानीका स्रोतहरू सुक्दै गएका छन् वा पानीको सतह निक्कै तल गइसकेको अवस्था छ।'

उपराष्ट्रपति यादवले नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक भए पनि जलवायु परिवर्तनका विविध असरले निकै समस्या उत्पन्न भइरहेको भन्दै यसविरुद्ध सबैको सहकार्य जरूरी रहेको उल्लेख गरेका छन्।

'हाल हिमालको हिउँ पग्लने, नदीहरूमा प्रदूषण, वायु प्रदूषण, वन विनाश, चुरे विनाशजस्ता गम्भीर चुनौती देखापरेका छन्। कतिपय ठाउँमा इनार, कुवा, चापाकललगायतमा पानी आउनै छाडेको छ, यस सन्दर्भमा स्थानीय सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीचको सहकार्य अनिवार्य छ,' उनले भनेका छन्।

प्रत्येक वर्ष ५ जुनमा विश्व वातावरण दिवस मनाइन्छ। संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी) को नेतृत्वमा मनाइने विश्व वातावरण दिवस—२०२५ को मूल नारा ‘प्लास्टिक प्रदूषणको अन्त्य’ रहेको छ।

उपराष्ट्रपति यादवले नवीकरणीय ऊर्जा स्रोत प्रवर्द्धन, वन्यजन्तु तथा जैविक विविधताको सुरक्षा सुनिश्चित, कृषि तथा औद्योगिक उत्पादनमा वातावरणमैत्री प्रविधि अपनाउने र व्यक्तिगत तथा सामुदायिक तहमा वातावरण संरक्षणका पहलहरूलाई प्रोत्साहित गर्ने कार्यमा जोड दिन जरूरी रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077