काठमाडौं । बाराको इलाका प्रहरी कार्यालय, सिमराकी इन्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) शुभद्रा वाइवामाथि छानविन सुरु भएको छ।
उनलाई प्रहरी प्रधान कार्यालय तानेर छानविन थालिएको स्रोतले बतायो । यद्यपी हेडक्वार्टरले भने डीएसपी वाइवासँग केही बुझ्नु पर्ने भएकाले झिकाइएको बताएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले आवश्यकताअनुसार हेडक्वाटर फिर्ता बोलाइएएको बताए ।
वाइवाको ठाउँमा अर्का डीएसपी वेद जोशीलाई पठाइएको छ ।
उनले सिमराको कमाण्ड सम्हालेको ६ महिना पनि पूरा भएको थिएन । वाइवा गएको पुसमा सिमरा सरुवा भएकी थिइन्।
जितपुर सिमरा उपमहानगरपालिकाले तेलको कुपन कम दिएको भन्दै विवाद गरेको उजुरी परेपछि हेडक्वार्टरले उनीमाथि छानविन थालेको हो।
डीएसपी वाइबा र उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंबीच केही दिनदेखि विवाद भएको थियो ।
उपमहानरपालिकाले भने तेलको कुपन च्यातेको आरोप लगाउँदै आएको छ । यता, सहसचिव प्रसाईंले घटनाबारे आफूलाई ब्रिफिङ नगरेको भन्दै सरुवा गरिदिने धम्की दिएको वाइवाको आरोप छ ।
हुनत यसअघि पनि डिएसपी वाइवा विवादमा आएकी थिइन् । केही दिनअघि मात्र उनले जीतपुरमा जारी एक सांस्कृतिक महोत्सवको स्टेजमा चढेर माइकको तार चुँडाएकी थिइन् ।
ढिलोसम्म सञ्चालन गरेको भन्दै उनले माइकको तार चुँडाएको भिडियो भाइरल भएको थियो ।
त्यस्तै, सिमरा विमानस्थलमा सर्वसाधारणलाई अनाहकमा हतकडी लगाएको घटनाले पनि उनी आलोचित भएकी थिइन् ।
डिएसपी वाइवा तिनै प्रहरी अधिकृत हुन्, जो मधेश प्रदेश प्रहरी कार्यालय, कर्मचारी प्रशासन शाखाले नगद पुरस्कार सहित पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
प्रहरी कार्यालयका अनुसार वाइवाले आफूमाथि सुम्पिएको जिम्मेवारी अत्यन्त उच्च व्यवसायिक कार्यकुशलताका साथ निर्वाह गर्दै अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन, शान्ति सुव्यवस्था तथा चोरी–तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।