काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरू छलफलमा बसेका हुन् ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
पूर्वप्रधानमन्त्री नेपाल समेत काठमाडौंमा नभएकाले पार्टीको आधिकारिक धारणा आउन नसकेको हो । भ्रष्टाचार मुद्दा लागेपछि गृहजिल्ला रौतहटमा रहेका नेपाल काठमाडौं फर्किँदै छन् ।
उनी बुधबार गृहजिल्ला रौतहट गएका थिए । पार्टी कार्यक्रममा सक्रिय रहेकै बेला भ्रष्टाचारमा मुद्दा दायर भएको थाहा पाएपछि नेपाल आजै काठमाडौं फर्किन लागेका हुन् ।
उनी काठमाडौं फर्किएपछि पार्टीको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्ने नेकपा एकीकृत समाजवादीले जनाएको छ ।
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भने पार्टी अध्यक्षविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको आरोप लगाएका छन् ।