काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्वन भएसँगै निलम्वित सांसदको सख्या चार पुगेको छ ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको हो ।
योसँगै निलम्बित सांसदको संख्या ४ पुगेको छ । २७५ सदस्यीय प्रतिनिधि सभाका ४ सांसद निलम्बनमा रहँदा अर्का १ जना फरार रहेका छन् ।
यस अघि अख्तियारले टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतबिरुद्ध मुद्दा दर्ता गरेको थियो । त्यसैले उनी गत जेठ १ गतेदेखि निलम्बनमा छन् ।
बस्नेतविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेसँगै उनको सांसद पद पनि स्वतः निलम्बनमा परेको हो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेबिरुद्ध सम्पति शुद्धीकरणको मुद्दा दर्ता भएसँगै उनी पनि निलम्बनमा परेका छन् । लामिछाने २०८१ पुस ८ गतेदेखि निलम्बनमा छन् ।
त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पनि निलम्बनमा छन् ।
लामिछाने र रायमाझी जेलमा छन् भने वस्नेन अझै पक्राउ परेका छैनन् ।
यता, सहकारीको बचत अनियमितताको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत एक वर्षदेखि फरार छिन् ।