काठमाडौं । नेकपा एकीकृत समाजवादी(नेकपा एस)का वरिष्ठ नेता बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर भएको दावी गरेका छन्।
बिहीबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रहका आधारमा भ्रष्टाचार मुद्दा चलाइएको भन्दै यसको राजनीतिक रुपले प्रतिवाद गर्ने बताए ।
त्यस्तै उनले अदालतमा नै मुद्दा दर्ता भएकाले कानूनी लडाई पनि लड्ने उल्लेख गरे । माधव नेपालमाथि पहिलेदेखि नै राजनीतिक आक्रमण भइरहेको र अहिले त्यसैको निरन्तरता भएको उनले बताए।
पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
उनीविरुद्ध ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ। आरोपपत्र दायर भएसँगै नेपालको सांसद पद स्वतः निलम्बन भएको छ ।