काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस संघीयताको पक्षमा अन्य पार्टीभन्दा अगाडि रहेको दाबी गरेका छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी याक्थुङ संघको प्रथम महाधिवेशनलाई शुक्रबार धरानमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन् । उनले नेताकार्यकर्तालाई विचलित नहुन र संघीयताको विकल्प नसोच्न आग्रह गरे ।
उनले भने, ‘कांग्रेसका नेताहरू नै बिचलित भएर संघीयताको विरोध गर्ने गरेका छन् । संघीयता कांग्रेस कै विचार हो। अन्य पार्टी भन्दा अगाडि कांग्रेस संघीयता र विकेन्द्रीकरणको पक्षमा उभिएको हो।’
महामन्त्री थापाले पछिल्लो समय गणतन्त्र विरोधी भाष्य निर्माण भएकोमा त्यसमा तल्लो तलसम्मका कार्यकर्तालाई नेताहरूले सही सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए।
‘राजतन्त्र फर्किने कल्पना समेत गर्न सकिदैन,’ उनले भने, ‘गणतन्त्र व्यवस्था मात्र नभएर यो संस्कार पनि हो ।’ उनले गणतन्त्र आफ्नो धर्म र जातमा विश्वास गर्दागर्दै अर्को जात र धर्मको सम्मान भाव आउने व्यवस्था भएको उल्लेख गरेका छन् ।