Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

संसद् अवरोध : माओवादीसँग कुरा नमिलेपछि एमालेसँग छलफल गर्दै कांग्रेस

संसद् अवरोध : माओवादीसँग कुरा नमिलेपछि एमालेसँग छलफल गर्दै कांग्रेस

आइतवार , जेठ २६, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँगको छलफलपछि कांग्रेस नेताहरू एमालेसँगको छलफलमा पुगेका छन् ।

प्रतिनिधि सभाको अवरोध खुलाउने विषयमा निरन्तर माओवादीसँग छलफल गरेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले मध्यमार्गी प्रस्तावबारे एमालेसँग छलफल सुरु गरेका हुन् ।

माओवादीसँगको छलफल निश्कर्षविहिन भएपछि खड्का एमालेका नेताहरुसँग छलफलका लागि पुगेका हुन् । माओवादीसँगको छलफलमा रहेका कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले सहमति जुटिनसकेको भए पनि बैठक सकारात्मक रहेको बताइसकेका छन् ।

भिजिट भिसा प्रकरणले प्रवेश पाएसँगै प्रतिनिधि सभाको बैठक जेठ १३ गते देखि बस्न सकेको छैन । विशेष कारण भन्दै ११ पटक बैठक सरिसकेको छ ।

प्रतिनिधि सभाको बैठक आज मात्रै दुई पटक सरिसक्यो । दिउँसो १ बजेका लागि राखिएको बैठक सवा ३ बजेलाई सर्‍यो । त्यो पनि बस्न सकेन र साँझ साढे ५ बजेका लागि सर्‍यो । तर, अहिलेसम्म पनि बैठक बस्न सकेको छैन ।

आइतबार मात्रै होइन, यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक सरेको सर्‍यै छ ।

१३ गते दुई पटक सर्‍यो, बैठक बस्न सकेन । १४ गते दुई पटक सर्‍यो । १५ गते बजेट ल्याउन विपक्षी दलहरूले दिए । त्यसपछि बसेको २० गते निर्धारित समयमा बैठक बस्न सकेन र एक पटक सरेर २१ गतेलाई राखियो ।

२१ गते एक पटक, २२ गते दुई पटक, २३ गते एक पटक र आइतबार दुई पटक गरेर ११ औं पटकसम्म प्रतिनिधि सभाको बैठक सरेको सर्‍यौ छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सकाएपछि भिजिट भिसा प्रकरणको समग्रतामा अध्ययन गर्ने गरी छानबिन समिति बनाउने विषय कांग्रेसले अगाडि सारेको हो ।

हुनत भिजिट भिसा प्रकरणमा विपक्षी दलबीच पनि मतभेद हुँदै आएको छ । अहिले माओवादी केन्द्र गृहमन्त्रीको राजीनामाबाट पछाडि हटेर सिंगो प्रकरणको छानबिनका लागि आयोग गठन गर्नुपर्नेमा पुगिसकेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रीको राजीनामामा अडिग छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077