काठमाडौँ । पतञ्जलि आयुर्वेदसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेपछि आलोचनाको घेरामा आएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू निर्दोष रहेको दाबी गरेका छन् ।
आइतबार वाग्मती प्रदेश कमिटीको पूर्ण बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन् । उनले आफूले कुनै गैरकानुनी कार्य नगरेको स्पष्ट पारे ।
'मैले अनुसन्धान हुनु हुँदैन भनेको छैन, म सधैं सुशासनको पक्षमा उभिएको व्यक्ति हुँ,' उनले भने, 'माथि लागेको आरोपको कानुनी उपचार अवश्य हुन्छ।'
नेपालले यो मुद्दा राजनीतिक प्रतिशोधको परिणाम भएको आरोपसमेत लगाए। 'वर्तमान सरकार बदलाको भावनाबाट सञ्चालित देखिन्छ। भ्रष्टाचार विरुद्ध लड्ने हामी जस्ता नेताहरूमाथि आरोप लगाएर बदला लिन खोजिएको छ,' उनले भने।
उनले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै झोले कार्यकर्ता उत्पादन नगर्न चेतावनीसमेत दिए। 'झोले कार्यकर्ता होइन, असली कार्यकर्ता तयार पार्नुपर्छ। ओलीजीले बदलाको राजनीति छोड्नुपर्छ,' नेपालले भने।
नेपालले आफूविरुद्धको मुद्दा हेर्न कानुनविद्हरूले हजारौं पृष्ठ दस्तावेज अनुसन्धान गरिरहेको जानकारीसमेत दिए ।