काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणको सरकारले एक महिनाभित्र छानबिन गर्ने प्रतिवद्धता गरेपछि आफूहरु सदन खोल्न तयार रहेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यो विषयमा सहमतिमा आउन रास्वपालाई समेत आग्रह गरेको बताए ।
रास्वपा र राप्रपको गृहमन्त्रीको राजीनामा माग गर्दै गरेको नाराबाजीबीच संसद् बैठक सञ्चालन भएपछि उनले सभामुखले संवादको वातावरण बनाउन थप पहल लिन आग्रह समेत गरे ।
सत्तापक्षका सांसदहरू समेत संयमित ढंगले प्रस्तुत हुनुपर्ने बताउँदै उनले भने, ’अलिकति बल प्रयोग जस्तो, जबरजस्ती जस्तो भयो । प्रमुख प्रतिपक्षी दल आइसक्यो, यसलाई पेलेपनि हुन्छ भन्ने जस्तो ठानिनु हुँदैन ।’
संसदीय अंकगणित कहिले कसैको ठूलो, कहिले अर्को ठूलो हुन सक्ने भन्दै उनले विगतमा रहेको प्रतिसोध अहिले नै साधौं जस्तो गर्न नहुने बताए ।