काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोधका बाबजुद सत्ताको आडमा सभामुखले सदन चलाइरहेको भन्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएका छन् । प्र
तिनिधि सभाको चौथो र पाचौं ठूलो दल अवरोध र विरोधमा रहँदा संसद्लाई चलाएको भनेर उनले प्रश्न उठाएका हुन् ।
बजेट छलफलका लागि रोष्टममा उभिएका साहले भने–‘यो संसद्मा कुनै अमुक पार्टी आफ्नो सिटमा उभिए संसद् अवरोध हुने, बैठक स्थगित तर कुनै पार्टीले नै वेल घेराउ नै गर्दा पनि अवरोध नहुने यो कस्तो विभेद हो ? म जान्न चाहन्छु ।’
सभामुख भनेको तटस्थ भूमिकामा हुनुपर्छ, सबैको साझा हुनुपर्छ भन्दै उनले भने–‘तर, आज सभामुखको यो व्यवहार हेर्दा आश्चर्य लागेको छ, म दुखित छु । सबै सांसद बराबर हुन् । सबै दल बराबर हुन् । आज चौथो र पाँचैं दल विरोधमा नरहँदा जुन व्यवहार भइराखेको छ, गलत भइराखेको छ ।’
वेलमा रास्वपाका सांसदहरू नाराबाजी गरिरहेका थिए । राप्रपाले बैठक नै छाडेर हिंडिसकेको थियो ।सांसदहरू बजेटमाथिको सामान्य छलफलमा भाग लिइरहेका छन् । यो दृश्य अमिल्दो रहेको भनेर उनले सभामुख र सत्तारुढ दलहरूको ध्यानाकर्षण गरे ।
उनले व्यङ्ग्य गर्लै भने–‘पहिला पनि संसद्मा नाराबाजी हुन्थ्यो, संसद् चल्थ्यो । विगतमा छोटो समयका लागि हुन्थ्यो । तर, आज एउटा नयाँ रेकर्ड कायम भयो । यसको लागि म शुभकामना दिन चाहन्छु ।’संसद्को वातावरण शान्त र सहज बनाउन फेरि पनि सभामुख र सत्तापक्षले पहल लिनुपर्ने आग्रह उनले गरे ।
उनले भने–एउटा सहज वातावरण बनाउनुस् । सरकार दुई तिहाइ छ भने संसद् शान्त बनाउन सक्दैन ?,’ दुई दुई अंक हो कि परिणाम हो ? सरकार दुई तिहाइको छ । संसद्को वातावरण यस्तो छ । अलिकति पनि संवेदशनशीलता छ भने पहल लिन आग्रह गर्दछु ।’
भोजपुरीमा ‘हडबडीको विवाह, कन्पटीमा सिन्दुर’ भन्ने भनाइ रहेको उल्लेख गर्दै उनले यो भनाइ चरितार्थ हुने व्यवहार उचित नरहेको आग्रह गरे ।
सभामुखले साहलाई बजेटमाथिको छलफलमा बोल्न समय दिएका थिए । विषय भन्दा बाहिर गएको भनेर सभामुखले बोल्दा बोल्दै साहलाई विषयलमा केन्द्रित हुन आग्रह गरे । त्यसक्रममा सामान्य सवाल जवाफ नै भयो ।
यस्तो छ सवाल जवाफ
सभामुख : वक्ता माननीय सदस्य यहाँ के विषयमा बोलिरहनुभएको छ ?
प्रभु साह : सभामुखज्यू आज यहाँको वातावरण छलफलको लागि छैन । के गर्ने त मैले ? कुन विषयमा बोल्ने ?
सभामुख : माननीय सदस्यज्यू, विषयवस्तुमा केन्द्रित भएर बोल्नका लागि म निर्देश गर्दछु ।
प्रभु साह : म सम्माननीय सभामुखजीसँग सोध्न चाहन्छु– संसद्को अवरोध कुन अवस्थामा भन्छन् रु एउटा कुनै पार्टी उभिराख्दा संसद् अवरुद्ध हुने, अर्को पार्टी वेलमा नाराबाजीमा हुँदा अवरोध नहुने ! म संसद् अवरोधको परिभाषा खोजिरहेको छु ।
सभामुख : माननीय सदस्य, विषय केन्द्रित आफ्नो अभिव्यक्ति दिनुहोला ।
प्रभु साह : यहाँ नाराबाजीकाबीच मैले के बोल्ने भन्ने प्रश्न गरिरहेको छु ।
सभामुख : माननीय सदस्य, आफ्नो विषय केन्द्रित गर्नुस् । तपाईंलाई ५ मिनेट समय दिएको छ, ३ मिनेट समय गइसकेको छ ।
प्रभु साह : मलाई बोल्ने वातावरण दिनुस्, सभामुख महोदय । म बजेटमा बोल्न चाहन्छु । बजेटमा छलफल गर्न चाहन्छु । देशको बजेट बिचौलियालाई खुसी बनाउने खालको छ । बिचौलियाले उत्सव मनाइरहेको छ । नेताहरूको घर–घरमा भोजभतेर गर्दै हिडेँको छन् । नेपाली जनता चिन्तित छन् । नेपाली जनता निराश छन् । यो बजेट कसको लागि आएको हो रु सायद यसैलाई गुमराह बनाउन, यसैलाई ओझेलमा पार्न संसद्को छलफललाई दुषित गरिरहेको छैन भन्ने प्रश्न आएको छ ।
नेपालबाट पैसा विदेश लैजान सहज हुने गरी सरकारले बजेट ल्याएको आरोप लगाए । बजेटले नेपालको प्राकृतिक स्रोतको दुरुपयोग हुने गरी बजेट आएको बताए । बजेटमाथि अनेकन प्रश्न उठ्न सक्ने भएकाले संसद्को वातावरण बिगारेर धमिलो पानीमा माछा मार्ने प्रयास भएको आरोप लगाए ।
यतिकैमा उनको समय समाप्त हुन्छ ।