काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पामा अस्तित्वमै नरहेको विद्यालय खडा गरी सरकारी रकम हिनामिना गरेको आरोपमा चार जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएका व्यक्तिहरूमा जिल्ला प्राविधिक कार्यालय दुनैका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, तत्कालीन लेखापाल मुनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगीता बुढा रहेका छन् ।
आयोगका अनुसार, डोल्पाको तत्कालीन दुनै गाविसमा ‘दुर्गा प्राथमिक विद्यालय’ नामक संस्था अस्तित्वमै नरहेको अवस्थामा समेत उक्त विद्यालयको नाममा भवन निर्माणका लागि ७ लाख ६० हजार रुपैयाँ निकासा गरी दुरुपयोग गरिएको थियो।
एक उजुरीका आधारमा अख्तियारले स्थलगत अनुसन्धान गर्दा दुनै गाविस वडा नं. २ र ३ मा कुनै पनि विद्यालय संचालनमा नरहेको पाइएको थियो। त्यसबाहेक, शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट भवन निर्माणका लागि कुनै रकम स्वीकृत नहुँदा पनि काम नगरी रकम झिकिएको पुष्टि भएको हो।
अख्तियारका अनुसार, भवन निर्माणका नाममा बजेट विनियोजन भई रकम निकासा भए पनि त्यहाँ कुनै संरचना निर्माण नभएको देखिएको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम उनीहरूलाई कसूर ठहर गरी कैद सजाय, बिगो बराबर जरिवाना र सोही ऐनको दफा ३ अनुसार बिगो असुल गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार अहिले ठूलीभेरी नगरपालिका– ४ पर्ने तिप्लामा श्री लालिगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा रहेको छ ।