काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा रहेका महत्त्वपूर्ण प्रावधानलाई उल्टाउने गम्भीर प्रयास भइरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘समाजवादी दर्शनको रुपरेखा’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले संविधानमा भएका अग्रगामी धाराहरूमा योजनाबद्ध रूपमा हस्तक्षेप भइरहेको दाबी गरे । अध्यक्ष प्रचण्डले संविधानलाई प्रतिक्रियावादी शक्तिको अनुकूल बनाउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे।
“जनताको बलिदानबाट प्राप्त संविधानका महत्वपूर्ण उपलब्धिमा छेडछाड गर्ने प्रयास अहिलेको प्रमुख चुनौती बनेको छ,” उनले भने ।
प्रचण्डले विगतमा जनवादी प्रचारको क्रममा संसदीय व्यवस्थाको आलोचना गर्दै ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली भनेर व्याख्या गरिएको स्मरण गरे। उनले अहिले संसदमा देखिएको व्यवहारले त्यसै भनाइको पुष्टि गरेको तर्क गरे।
“समितिको प्रतिवेदनमा भइरहेका छेडखानीले संसदको भित्रि खेलको नांगो तस्वीर देखाएको छ,” प्रचण्डले स्पष्ट पारे।