Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

हर्क साम्पाङको नेतृत्वमा भएको श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार, एकजना पक्राउ

हर्क साम्पाङको नेतृत्वमा भएको श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार, एकजना पक्राउ

शुक्रवार , आषाढ २०, २०८२

धरान । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा धरान १६ मा भएको श्रमदानका क्रममा १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको खुलेको छ ।

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा आरोपमा प्रहरीले ४९ वर्षीय खगेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितका परिवारले खगेन्द्रविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीपछि धरान–१७ पृथ्वीचोकका राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
धरान बहुभाषिक पाठशाला निर्माणको श्रमदान चलिरहेको बेला बालिकामाथि यौन दुर्व्यवहार भएको पीडितको आरोप छ ।

पक्राउ परेका राई श्रमदाताहरूलाई खाना पकाउने काममा खटिएका थिए । बालिका आफ्नी आमासँग श्रमदानमा आएकी थिइन् । त्यही क्रममा राईले बालिकालाई फकाएर खोल्सातिर लगी हातपात गर्न खोजेको आरोप छ ।

यद्यपी घटना भएको बेला मेयर भने थिएनन् । घटनाको दिन राईलाई पीडितकी आमाले कुटपिटसमेत गरेकी थिइन् ।

पीडित परिवारका सदस्यले भने सोही दिन नै आफूहरुले प्रहरी बोलाउन खोज्दा कुन्दन श्रेष्ठले ‘श्रमदाता मानसिक रोगी हुन्, यस्तालाई कुटेर केही फाइदा छैन, उल्टै बच्चीको बदनाम हुन्छ । छोरी मान्छे हो, पछि बिहे नहुन पनि सक्छ । सामान्य विषयले श्रमदानको बेइज्जत हुन्छ’ भन्दै घटना प्रहरीसम्म पुग्न नदिएको बताएका छन् ।

पाठशालामा खोलाले कटान गरेपछि मेयर साम्पाङको नेतृत्वमा तारजाली लगाउन श्रमदान अभियान चलिरहेको छ ।

उपभोक्ता समिति बनाएर बिल लगिएपछि उपमेयर आइन्द्रविक्रम बेघाले रकम निकासा रोक्दा यहाँको श्रमदान विवादमा समेत परेको थियो ।

यही विषयले मेयर(उपमेयरको विवाद बढेपछि धरानले नयाँ बजेट पनि ल्याउन सकेको छैन ।

यता मेयर साम्पाङले भने दुई महिना पुरानो घटनालाई अहिले आएर बाहिर ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । यो घटनालाई जोडेर श्रमदानलाई बदनाम गर्न खोजिएको उनको आरोप छ ।

यो विषय बाहिर आएलगत्तै गत शुक्रबार साम्पाङले फेसबुकमा स्टाटस लेख्दै घटना प्रमाणित भए आफूले कारबाही गर्ने बताएका थिए ।

साथै, उनले चेतावनी दिँदै भनेका थिए, ‘यदि यस्तो होइन रहेछ भने आरोप लगाउनेले माफी मागेर कसले यस्तो भन्न लगाएको हो बाहिर ल्याइदिनुपर्छ ।’

यो स्टाटस विवादित भएपछि साम्पाङले हटाइसकेका छन् । धरान १६ का वडाअध्यक्ष मुरारी भट्टराईले मेयरले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर कारबाहीको चेतावनी दिएको बताए ।

तर साम्पाङले हिजो सामाजिक सञ्जाल फेसबुकमा लाइभ बसेर उनले भनेका छन्–‘१६ नम्बरको बालिकामाथि यौन दुर्व्यवहारको कुरा अहिले निकै तात्तिएको छ । को व्यक्तिले त्यस्तो गर्यो पत्ता लगाएर आरोप पुष्टि भएको हदसम्म कडा कानूनी कारवाही होस ।’

व्यक्तिगत रुपमा पीडकलाई आफूले नचिन्ने बताएका साम्पाङले भनेका छन्–‘प्रहरीले खोजोस र ल्याओस । श्रमदान भनेको यति वृहद कार्यक्रम हो, त्यसमा को–को आउँछ को–को आउँदैन, को कस्तो नियतले आयो, को कोसित बात मार्दैछ हामीलाई थाहा हुँदैन । कोही खराब नियतले आएका हुन सक्छन् । जो वास्तविक श्रमदाता छन्, उनीहरुले त्यस्तो काम गर्दैन भन्ने लाग्छ । श्रमदानलाई बदनाम गर्ने किसिमले नभन्नुहोला । खराब नियत राखेर आएकोलाई श्रमदाता भन्न मिल्दैन ।’

कुनै किसिमको कनेक्सन राखेर श्रमदान र श्रमदातालाई अपमान नगर्न आग्रह गर्दै उनले भनेका छन्–‘दुई महिना अगाडिको कुरा अहिले किन निस्किँदैछ ? त्यतिबेला नै किन निस्किएन ? दुई महिनासम्म यौन दुर्व्यवहारको कुरा लुकाएर हुन्छ ? यी सबै कुराको सत्यतथ्य छानबिन होस् । कोही निर्दोष नफसोस्, दोषी नउम्कियोस् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077