धरान । सुनसरी प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पाँच जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
भारतको बिहारस्थित बिरपुर बजारबाट लागुऔषध खरिद गरी नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही भन्सार गेट नजिकैबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार, बिहीबार राति विशेष सूचनाको आधारमा गरिएको निगरानीपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। धरान उपमहानगरपालिका–१७ का २३ वर्षीय मनिष लिम्बू र धरान–११ का १९ वर्षीय मनिष राई को.३८ प. ७९६० नम्बरको स्कुटरमा सवार थिए ।
चेकजाँचका क्रममा चालक मनिष लिम्बूको मलद्वारमा लुकाएर ल्याइएको ५.९४ ग्राम ब्राउन सुगर बरामद गरिएको डीएसपी खतिवडाले जानकारी दिए। त्यस्तै भारतबाट पैदल हुँदै नेपाल प्रवेश गरेका कोशी गाउँपालिका–४ का २४ वर्षीय सम्साद मिया पनि लागुऔषधसहित पक्राउ परेका छन् ।
साथै इनरुवा नगरपालिका–४ का २० वर्षीय शिवदेव खत्वे र २० वर्षीय नितेश स्वर्णकार मध्ये शिवदेवको साथबाट २ सय ५० मिलिग्राम ब्राउन सुगर फेला परेको छ। पक्राउ परेका पाँचैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखी लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।