सर्लाही । जनता समाजावादी पार्टी (जसपा)का मधेश प्रदेशका अध्यक्ष अशोक यादव र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्काबीचको विवादित अडियो बाहिरिएको छ ।
उक्त अडियोमा अध्यक्ष यादवले अपशब्द प्रयोग गर्दै एसपी खड्कालाई लुटेरा भन्दै धम्क्याएका छन् ।
सर्लाहीमा पछिल्लो समय तस्करी नियन्त्रणमा प्रहरीले जति सक्रियता देखाएको छ, त्यति नै ठूलो विवाद पनि चुलिँदै गएपछि यादवले धम्क्याएका हुन् ।
जिल्लामा तस्करीको नाममा निर्दोष नागरिकहरूलाई मुद्दामा फसाइने र असली तस्करहरूलाई जोगाइने आरोप प्रहरीले खेप्दै आएको छ ।
यही विषयलाई लिएर जिल्ला प्रहरी प्रमुख एसपी खड्का र जसपा नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादवबीच वादविवाद भएको बताइएको छ ।
अडियोमा अध्यक्ष यादवले एसपी खड्कालाई ‘मधेश लुट्न आएको’ भन्दै गालीगलौज गर्दै गम्भीर आरोप लगाएको सुनिन्छ।
विवादित अडियो सार्वजनिक भएपछि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए।
एसपीसँगको विवादपछि सोमबार राति करिब ११ बजे प्रहरी टोली यादवलाई नियन्त्रणमा लिन उनको घर पुग्दा गाउँलेहरूको हुल हुज्जतका कारण टोली फर्कन बाध्य भएको थियो।
त्यसक्रममा प्रहरी गाडीमा तोडफोड भएको सर्लाहीका डीएसपी सरोज राईलले बताएका छन् ।
डीएसपी राईले यादवविरुद्ध कानूनी प्रक्रिया अगाडि बढाइएको र पक्राउका लागि खोजी भइरहेको बताए। तर, नेता यादवले आफू जनकपुरमै रहेको दाबी गर्दै प्रहरी प्रशासनले राजनीतिक दवावमा आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाएका छन्।
अध्यक्ष यादवले प्रहरी प्रशासनमाथि खुलेर आरोप लगाउँदै आएका छन् । नेता यादवले सर्लाहीका सरकारी कार्यालयहरूमा प्रहरीको संरक्षणमा भ्रष्टाचार र कमिसनको खेल भइरहेको दाबी गर्दै आएका छन्।
उनले केही कर्मचारीले रौतहट बसेर कमिसनको काम गरिरहेको र रातिमा सर्लाहीमा आएर अफिस बन्द गरेर अवैध काम गर्दै आएको आरोप पनि लगाएका छन्।