सर्लाही । सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
आपराधिक उपद्रवको कसुरमा जिल्ला अदालत सर्लाहीबाट शुक्रबार पक्राउ पुर्जी जारी भएको प्रहरीले जानकारी दिएको छ। उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ।
अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई ‘तराइमा लुट्न आएको लुटेरा’ भन्दै धम्क्याएको अडिओ संवाद सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ ।
प्रहरीले रातिको समयमा सर्लाहीस्थित भौतिक पूर्वाधार कार्यालयमा सुरक्षा दिएको विषयमा यादवले धम्क्याएको प्रहरीको दाबी छ।
सार्वजनिक भएको अडिओमा अध्यक्ष यादवले प्रहरीलाई किन त्यहाँ सुरक्षा दिएको भन्दै तथानाम गाली गरेका छन्। एसपी खड्कालाई ‘लुट्न तराईमा आएको’ भन्दै उनले गाली गरेको अडिओमा सुनिन्छ।
यादवले यसअघि प्रदेश मन्त्रीलाई पनि यस्तै धम्कीपूर्ण भाषामा म्यासेज पठाएको पाइएको छ। उक्त म्यासेज पनि प्रहरीले अबको कारबाहीका लागि प्रमाणका रुपमा लिने जनाएको छ।
धम्कीपछि यादवलाई पक्राउ गर्न गएको प्रहरीको गाडीमा तोडफोड भएको छ । एसपीसँगको विवादपछि सोमबार राति करिब ११ बजे प्रहरी टोली यादवलाई नियन्त्रणमा लिन उनको घर पुग्दा गाउँलेहरूको हुल हुज्जतका कारण टोली फर्कन बाध्य भएको थियो। सो पश्चात् यादवलाई नियन्त्रणमा लिन खोजेपछि डिएसपीको गाडी तोडफोड गरिएको हो।
पूर्वाधार कार्यालय मलंगवामा राति साढे आठ बजेतिर प्रहरीको निगरानीमा भुक्तानीको लागि चेक काटेको विषयमा विवाद चर्किएको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले स्थानीयको ढुंगामुढामा जिल्ला प्रहरी कार्यालयको गाडीमा क्षति पुगेको बताएका छन्। प्रहरीले यादवको खोजी गरिरहेको जनाएको छ।