Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

धरानमा यौन दुर्व्यवहारदेखि खुकुरी आतंक र चोरीसम्म : पाँच आरोपी एकैसाथ सार्वजनिक

धरानमा यौन दुर्व्यवहारदेखि खुकुरी आतंक र चोरीसम्म : पाँच आरोपी एकैसाथ सार्वजनिक

शुक्रवार , आषाढ २०, २०८२

धरान । धरानमा पछिल्लो तीन महिनायता भएका यौन दुर्व्यवहार, खुकुरी आक्रमण र चोरीका घटनामा संलग्न पाँच अभियुक्तलाई धरान प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएकामध्ये सबैभन्दा संवेदनशील मुद्दा १३ वर्षीया बालिकामाथिको यौन दुर्व्यवहार रहेको छ । घटनामा धरान उपमहानगरपालिका–१७ का ४९ वर्षीय खजिन्द्र राई पक्राउ परेका हुन् ।

घटनाक्रम अनुसार दुई महिनाअघि धरान–१६ स्थित एक बहुभाषिक पाठशालामा श्रमदान चलिरहेका बेला खजिन्द्र राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । पीडित पक्षले बिहीबार मात्र प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
धरानका डीएसपी प्रकाश जवेगुका अनुसार, उजुरी ढिलो आएकाले म्याद थप गरेर अनुसन्धान थालिएको छ। ‘तथ्यहरू अहिले प्रारम्भिक अनुसन्धानकै क्रममा छन्,’ उनले बताए।

खुकुरी आतंक मच्चाउने गिरोह

यसैबीच, असार १२ गते धरान–२० मा फिल्मी शैलीमा खुकुरी बोकेर आतंक फैलाउने तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सप्तरीको कञ्चनरुपका १८ वर्षीय साईमन चौधरी, धरानका २१ वर्षीय पासाङ शेर्पा र २१ वर्षीय प्रशान्त प्रधान छन्।

उनीहरूले को २० प ७५६३ नम्बरको मोटरसाइकलमा सवार भएर २८ वर्षीय समीर राईलाई लखेटी खुकुरी आक्रमण गरेका थिए।

लाखौंको चोरी गर्ने मुख्य नाइके पक्राउ

त्यस्तै, करिब तीन महिना अघि धरान–१५ की पवित्रा मगरको घर फोडेर लाखौं रुपैयाँ बराबरको नगद र गरगहना चोरी गर्ने गिरोहका मुख्य योजनाकार ४१ वर्षीय सोनाम लामा पनि पक्राउ परेका छन् ।

काभ्रेपलान्चोकको बेथानचोक–६ निवासी लामालाई काठमाडौं दरबारमार्ग क्षेत्रबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रारम्भिक अनुसन्धानमा उनका समूहले चार लाख ४९ हजार ६ सय नगद, दुई तोला सुन र १७ तोला चाँदी चोरी गरेको खुलेको छ। उनीहरु सबैमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077