काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको फैसलाप्रति आपत्ति जनाउँदै सरकारको पक्षबाट सर्वोच्च अदालतमा पुनरावेदन हुने भएको छ ।
महान्यायाधिवक्ता रमेश बडालले उक्त फैसलालाई त्रुटिपूर्ण भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेका हुन् ।
२०७९ जेठ १४ गते वीरगञ्ज इजलासका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमसहितलाई बम विष्फोट, हत्या र संगठित अपराधसम्बन्धी अभियोगमा सफाइ दिएको थियो ।
हाल पुनरावेदन निवेदन तयार पार्ने काम भइरहेको छ र दुई साताभित्र सर्वोच्च अदालतमा दर्ता गरिने बताइएको छ ।
यो प्रकरण लामो समयदेखि चर्चामा रहँदै आएको थियो। २०६४ सालमा रौटहटको राजपुर बमकाण्डका क्रममा जिउँदै मानिसलाई इँटाभट्टामा हालेर जलाएको आरोप आलममाथि लागेको थियो ।