कैलाली । लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गत ईलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको टोलीले बिहीबार राति कैलालीको भजनी नगरपालिका–५, लालबोझीस्थित चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कैलालीको भजनी नगरपालिका–४ निवासी २५ वर्षीय मनोज चौधरी, घोडाघोडी नगरपालिका–१२ निवासी २१ वर्षीय विशाल चौधरी, भजनी–४ का २१ वर्षीय बिक्रम चौधरी र २८ वर्षीय हनुमान चौधरी रहेका छन् ।
प्रहरी निरीक्षक जीवन गुरुङको नेतृत्वमा खटिएको टोलीले गरेको चेकजाँचमा ५ ग्राम ६७० मिलिग्राम खैरो हेरोइन, दुईवटा मोटरसाइकलसहित चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट से ३ प ९२३६ र ग ६ प ८३७९ नम्बरका दुई मोटरसाइकलसमेत बरामद गरेको छ ।
पक्राउ परेका चारैजनालाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।