काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले निलो पोशाक लगाउने प्रहरी आफैंमा सामुदायिक प्रहरी भएको बताएका छन् ।
शनिबार प्रहरी वृत्त गौशाला, काठमाडौँ महानगरपालिका–८, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र चावहिलको संयुक्त आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत 'सुरक्षा, जनचासो र समाधान विषयक नागरिक सुनुवाइ कार्यक्रम' उनले यस्तो बताएका हुन् ।
उनले भने, “निलो पोशाक लगाउने प्रहरी आफैंमा सामुदायिक प्रहरी हुन् । प्रहरी निलो पोशाक भित्रका नागरिक हुन्, जसले सेवा, सुरक्षा र समन्वयमा विश्वास गर्छन्” नेपाल प्रहरी नागरिकमैत्री प्रहरी भएकोले नागरिकसँगको सहकार्य विना प्रहरी कार्य प्रभावकारी हुन सक्दैन ।”
उनले प्रहरीको काम जनमैत्री, सहभागितामूलक र समन्वयात्मक हुनुपर्नेमा जोड दिए । “नेपाल प्रहरी नागरिकमैत्री संस्था हो। नागरिकसँगको सहकार्य विना प्रहरी कार्य प्रभावकारी हुन सक्दैन,” उनले भने ।
एसएसपी अधिकारीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले दैनिक १,१०० भन्दा बढी कार्यहरू शान्ति–सुरक्षा, अपराध अनुसन्धान, सवारी व्यवस्थापन, विपद् व्यवस्थापनलगायत विविध क्षेत्रमा प्रभावकारी रूपमा गर्दै आएको छ।
प्राकृतिक विपद्को सन्दर्भमा उनले टोखालगायतका क्षेत्रमा हालै सम्पन्न सफल उद्धार कार्यको उदाहरण दिँदै उद्धार सामग्री संकलन तथा व्यवस्थापन भइरहेको जानकारी दिए ।
लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रियता उल्लेख गर्दै उनले भने, “हरेक घर लागूऔषधमुक्त बनाउन सके ठूलो मात्रामा सामाजिक अपराध नियन्त्रण गर्न सकिन्छ।” नागरिक र प्रहरीबीच सूचनाको आदानप्रदान तथा हातेमालो आवश्यक रहेको उनको जोड थियो ।
कार्यक्रममा प्रहरी वृत्त गौशाला र बौद्धका प्रमुख, ट्राफिक प्रहरी प्रभाग गौशालाका प्रमुख, स्थानीय जनप्रतिनिधि, टोल सुधार समिति, आमा समूहका प्रतिनिधिसहित करिब १५० जनाको सक्रिय सहभागिता रहेको थियो ।